उपभोक्ता समितिमार्फत बाटो खनेका महिलालाई ऋणको भार
कैलाली | भदौ ८, २०७९
कैलालीको भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन् । भजनी नगरपालिका–२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन् ।
सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले रु पाँच लाख ५० हजार विनियोजन गरेको थियो । महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट रु तीन लाख एक हजारमात्रै भुक्तानी पाएका छन् । बाटो बनाउँदा खर्च भएको रु एक लाख १५ हजार तिर्न बाँकी रहेपछि उनीहरु यतिखेर समस्यामा छन् ।
उपभोक्ता समितिमा स्थानीय ११ महिला छन् । महिलाले बाटो बनाउँदा टिपरलाई मात्र रु तीन लाख ९० हजार र जेसिबीलाई रु १२ हजार तिर्न बाँकी छ । अन्य काम गर्दाको खर्चको हिसाब छैन । सुरुआतमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरुले बताएका छन् । प्राविधिकले बनाएको स्टिमेटअनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताउनुहुन्छ । “हामीले भनेअनुसार काम गर्यौँ”, उहाँले भन्नुभयो, “पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भनियो, पछि रकम भुक्तानी दिँदा कम काम भयोे, रकम घट्छ भनेर थोरै दिए । प्राविधिकले नापेर बनाउन भने जति बाटो बनाएका हौँ ।”
पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ । पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन् । महिलालाई रकम तिर्न ताकेता गर्दै टिपर मालिकले कागज गराएर गाई भैँसी उठाउने भनेपछि उनीहरु अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेको धामी बताउनुहुन्छ । “टिपरलाई रु ९० हजार तिर्न बाँकी छ । हामीसँग ४५ दिनको कागज गरिएको छ । आज ४५ दिन पुग्दैछ”, उहाँले पीडा सुनाउनुभयो, “अब कहाँबाट ल्याएर तिर्नेरु, बाटो बनाउँदा ऋणमा डुब्यौँ ।”
महिलाले टिपर मालिकलगायतलाई गरी अझै रु एक लाख १५ हजार तिर्न बाँकी छ । उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने वाध्यता आइलागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निकै समस्यामा छौँ । बाख्रा पाल्नेले त्यही बेचेर तिर्ने सोच बनाएका छौँ ।” महिलाले छ सय २० मिटर ग्राभेल गरेको स्थानीय बताउँछन् । पालिकाले हिसाब गरेर चार सय ८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताउनुभयो । सो क्रममा उनीहरुले श्रमदानसमेत गरेका थिए । “माग सम्बोधन नगरे महिला अब विकासका काममा हात हाल्न डराउने छन्”, उहाँले भन्नुभयो ।
टिपर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्न ४५ दिनअघि कागज गरेको थियो । उक्त म्याद आज सकिँदैछ । रु ९० हजार तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताउनुहुन्छ । “मेरै घरमा कागज गरियो, कागजमा के लेखिएको छ हामीले हेर्न पाएनौँ”, उहाँले भन्नुभयो, “उपभोक्ता समितिलाई ऋणी बनाइएको छ । मलाई साक्षी राखिएको छ ।”
स्टिमेटअनुसार छ सय २० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर चार सय ८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका सबइञ्जीनियर भावना विष्टले कामअनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताउनुभयो । “उहाँहरुले काम गरेअनुसार भुक्तानी दिइएको छ । रकम नपुगेको बारे मलाई थाहा छैन”, उहाँले भन्नुभयो, “हामीले नापेर भुक्तानी दिने हो । त्यहीअनुसार दिएका छौँ ।”
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

